काठमाडौँ। प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ। बैठकमा विभिन्न वार्षिक प्रतिवेदन, विधेयक तथा अन्तर्राष्ट्रिय महासन्धिसम्बन्धी प्रस्तावहरू प्रस्तुत हुने कार्यसूची रहेको छ।
कार्यसूचीअनुसार प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले न्यायपरिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन, २०८१/८२ तथा लोकसेवा आयोगको ६६औँ वार्षिक प्रतिवेदन (२०८१ साउन–२०८२ असार) प्रतिनिधिसभामा पेस गर्नेछिन्।
त्यसैगरी, प्रधानमन्त्रीका तर्फबाट नै मन्त्री गौतमले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ र ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्नेछन्। अनुमति प्राप्त भएपछि सो विधेयक सदनमा औपचारिक रूपमा प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।
यस्तै, युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले अन्तरराष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ माथि छलफल गरियोस् र त्यसलाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन्।
यसैगरी, मन्त्री यादवले अन्तरराष्ट्रिय श्रम सङ्गठनको श्रम निरीक्षणसम्बन्धी महासन्धि, १९४७ (नं. ८१) माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछन्। त्यसपछि सो महासन्धिलाई अनुमोदन गरियोस् भन्ने प्रस्तावसमेत आजकै बैठकमा पेस गर्ने कार्यसूची रहेको छ।

