काठमाडौँ । सिरहामा वर्षाको पानी जमेर बनेको पोखरीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ। जिल्लाको गोलबजार नगरपालिका–७ स्थित स्थानीय पशु बजार नजिक वर्षाको पानी भरिएर बनेको पोखरीमा आइतबार नुहाउने क्रममा उनीहरू डुबेका हुन्।
मृत्यु हुनेमा स्थानीय अब्बास खानका ८ वर्षीय छोरा सैफुल शेख, १० वर्षीया रुविना खातुन र १२ वर्षीया सवनम खातुन रहेका छन्। उनीहरू दाजुभाइ–दिदीबहिनी हुन्।
वर्षाका कारण पशु बजार क्षेत्रमा रहेको खाल्डोमा पानी भरिएर पोखरी बनेको थियो। सोही पोखरीमा नुहाउन गएका तीनै बालबालिका डुबेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।
घटनाको जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली घटनास्थल पुगेर उद्धार गरेको थियो। उद्धारपछि उनीहरूलाई पानीबाट बाहिर निकालिए पनि ज्यान जोगाउन भने नसकिएको प्रहरीले जनाएको छ।

