काठमाडौं । बागमती प्रदेशमा नयाँ सत्ता समीकरणअनुसार सरकार गठनको बाटो खुलेको छ। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नेकपा एमालेका सांसद किरण थापा मगरलाई मुख्यमन्त्री नियुक्त गरेका छन्।
एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूको समर्थन जुटाउँदै थापाले बुधबार मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए। तीन दलको समर्थनसहितको दाबी प्रदेश प्रमुखको कार्यालयमा पुगेपछि थापालाई नयाँ मुख्यमन्त्री नियुक्त गरिएको हो।
एमाले र नेकपाबीच बनेको नयाँ सत्ता सहकार्यअनुसार बागमती प्रदेश सरकारको नेतृत्व एमालेको भागमा परेको थियो। यसअघि एमालेले समर्थन फिर्ता लिएपछि तत्कालीन मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकार अल्पमतमा परेको थियो। बानियाँले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि संविधानको धारा १६८(२) अनुसार दाबी पेस गर्न आह्वान गरेका थिए।
मुख्यमन्त्रीमा नियुक्त थापा मगरले बिहीबार नै पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ। प्रदेश प्रमुखको कार्यालयका अनुसार शपथपछि नयाँ सत्ता समीकरणअनुसार मन्त्रिपरिषद् विस्तार र सरकार सञ्चालनको प्रक्रिया अघि बढ्नेछ।
थापाको नियुक्तिसँगै बागमती प्रदेशमा एमाले, नेकपा र राप्रपाबीचको सहकार्यमा नयाँ सरकार गठन हुने निश्चित भएको छ।

