काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत अर्जेन्टिना र स्विट्जरल्यान्डबीच जारी क्वार्टरफाइनल खेल अतिरिक्त समयमा प्रवेश गरेको छ।
निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएपछि विजेताको टुङ्गो लगाउन खेल अतिरिक्त समयमा धकेलिएको हो।
स्विट्जरल्यान्ड दोस्रो हाफमा एक खेलाडी गुमाउँदै १० खेलाडीमा सीमित भएको छ। अर्जेन्टिनाका खेलाडीमाथि फल गरेपछि रेफ्रीले स्विट्जरल्यान्डका बी. इम्बोलालाई रातो कार्ड देखाउँदै मैदानबाहिर पठाएका हुन्।
खेलको १०औँ मिनेटमा कप्तान लियोनल मेसीले प्रहार गरेको कर्नरलाई एलेक्सिस म्याक एलिस्टरले उत्कृष्ट हेडमार्फत् गोलमा परिणत गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। पहिलो हाफ यही अग्रतासहित सकिएको थियो।
तर दोस्रो हाफको ६७औँ मिनेटमा आर. रोड्रिगेजले स्विट्जरल्यान्डका लागि बराबरी गोल फर्काउँदै खेललाई १–१ को अवस्थामा पुर्याए। त्यसपछि बाँकी समयमा कुनै टोलीले निर्णायक गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको हो।
यसअघि शनिबार बिहान भएको अर्को क्वार्टरफाइनलमा नर्वेलाई २–१ ले पराजित गर्दै इंग्ल्यान्डले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ।

