काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत क्वार्टरफाइनलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई अतिरिक्त समयमा ३–१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।
अमेरिकाको कान्सास सिटी स्टेडियममा निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि प्रतिस्पर्धा अतिरिक्त समयमा पुगेको थियो। त्यही अतिरिक्त समयमा दुई गोल थप्दै अर्जेन्टिनाले विश्व च्याम्पियनको हैसियतअनुसार प्रभावशाली जित निकालेको हो।
अर्जेन्टिनालाई सुरुआती अग्रता खेलको १०औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरले दिलाएका थिए। कप्तान लियोनल मेसीले कर्नरबाट प्रहार गरेको बललाई म्याक एलिस्टरले उत्कृष्ट हेडमार्फत् जाली चुमाएका थिए। पहिलो हाफ १–० ले अघि रहेको अर्जेन्टिनाविरुद्ध स्विट्जरल्यान्डले दोस्रो हाफको ६७औँ मिनेटमा आर. रोड्रिगेजको गोलमार्फत् बराबरी फर्कायो।
खेलको ७२औँ मिनेटमा ब्रिन एम्बोलोले दोस्रो पहेँलो कार्डपछि रातो कार्ड पाउँदै मैदान छाडेपछि स्विट्जरल्यान्ड १० खेलाडीमा सीमित भयो। संख्यात्मक रूपमा कमजोर बने पनि स्विट्जरल्यान्डले अर्जेन्टिनालाई लामो समयसम्म कडा चुनौती दिएको थियो।
निर्णायक मोड भने अतिरिक्त समयमा आयो। ११२औँ मिनेटमा जुलियन अल्भारेजले व्यक्तिगत दोस्रो तथा टोलीका लागि दोस्रो गोल गर्दै अर्जेन्टिनालाई २–१ को अग्रता दिलाए। त्यसपछि अतिरिक्त समयको इन्ज्युरी समयको अन्तिम क्षणमा लाउटारो मार्टिनेजले अर्को गोल थपेपछि अर्जेन्टिनाले ३–१ को जितसहित सेमिफाइनल यात्रा तय गर्यो।
यसअघि आजै बिहान सम्पन्न अर्को क्वार्टरफाइनलमा इंग्ल्यान्डले नर्वेलाई २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो।
७२ वर्षपछि विश्वकपको क्वार्टरफाइनल पुगेको स्विट्जरल्यान्डको ऐतिहासिक यात्रा भने अन्तिम आठमै टुंगिएको छ।

