काठमाडौँ । लोकतान्त्रिक गणतन्त्र कङ्गोमा फैलिएको इबोला प्रकोप थप भयावह बन्दै गएको छ। त्यहाँका स्वास्थ्य अधिकारीहरूका अनुसार शनिबारसम्म इबोलाका कारण ज्यान गुमाउनेको सङ्ख्या ६४८ पुगेको छ भने एक हजार ८३० जनामा सङ्क्रमण पुष्टि भएको छ।
स्वास्थ्य अधिकारीहरूले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कमा पछिल्ला २४ घण्टामा थपिएका सङ्क्रमण र मृत्युका घटनासमेत समावेश गरिएको छ।
स्वास्थ्यमन्त्री स्यामुएल रोजर कम्बाले जारी गरेको विज्ञप्तिअनुसार सरकारले इबोलाबाट तीव्र रूपमा प्रभावित क्षेत्रहरूको सूची विस्तार गर्दै देशको उत्तर र उत्तरपूर्वी भागका सोपो तथा हाट–युले प्रान्तलाई समेत समेटेको छ।
यसअघि नै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कङ्गोमा इबोला प्रकोपको वास्तविक अवस्था सरकारी तथ्याङ्कले देखाएकोभन्दा दुईदेखि चार गुणासम्म गम्भीर हुन सक्ने चेतावनी दिएको थियो।

