काठमाडौँ । देशभर मनसुन सक्रिय बन्दै जाँदा आज र आज राति विभिन्न प्रदेशका धेरै स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भू–भाग नजिक अवस्थित छ। यसको प्रभावले देशभर अधिकांश स्थानमा बादल लागेको छ। अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थान तथा मधेस र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश स्थानमा बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहने पूर्वानुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागका धेरै स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा केही स्थानमा मेघगर्जन, चट्याङसहित वर्षा तथा हिमपात हुन सक्नेछ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराईका धेरै स्थान, मधेस प्रदेश तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थान तथा मधेससहित कोशी, बागमती र गण्डकीका तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
रातिको समयमा पनि मनसुनको प्रभाव कायम रहनेछ। कोशी र बागमती प्रदेशका पहाडी तथा तराई भू–भाग र मधेस प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ भने कोशी र बागमतीका पहाडी भू–भागका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ। गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।
महाशाखाले सक्रिय मनसुनका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयको जोखिम बढ्न सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ। साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन विभागले अनुरोध गरेको छ।

