काठमाडौँ । गणेश नेपालीको मृत्यु प्रकरणलाई लिएर सरकार, काठमाडौँ महानगरपालिका र पीडित परिवारबीच १४ घण्टा लामो वार्तापछि आठ बुँदे सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँमा भएको वार्तापछि आइतबार साँझ ५ बजे सहमति जुटेको हो। सहमतिसँगै पीडित पक्षले शव परीक्षण प्रक्रिया अघि बढाउन तथा गणेश नेपालीको शव बुझ्न सहमति जनाएको छ।
मुगुको सोरु गाउँपालिका–१ जवलधाराका गणेश नेपालीले त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका थिए। उपचारका क्रममा वीर अस्पतालको बर्न युनिटमा उनको निधन भएपछि घटनालाई लिएर पीडित पक्ष आन्दोलनमा उत्रिएको थियो।
सहमतिअनुसार घटनाको सत्यतथ्य र निष्पक्ष छानबिनका लागि नेपाल सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा यथाशीघ्र स्वतन्त्र छानबिन समिति गठन गर्नेछ। समितिले सात दिनभित्र सरकारसमक्ष प्रतिवेदन बुझाउनुपर्नेछ।
मृतकलाई सहिद घोषणा गर्ने विषयमा प्रचलित कानुन, विगतको अभ्यास तथा छानबिन समितिको प्रतिवेदन र सिफारिसका आधारमा आवश्यक निर्णय प्रक्रिया अघि बढाइने सहमति पनि भएको छ।
घटनाका क्रममा अग्रपंक्तिमा खटिएका काठमाडौँ महानगर प्रहरीका कर्मचारीलाई तत्कालका लागि निलम्बन गर्न जिल्ला प्रशासन कार्यालयले महानगरपालिकालाई पत्राचार गर्ने तथा छानबिन प्रतिवेदनका आधारमा थप कारबाही अघि बढाइनेछ।
पीडित परिवारको दीर्घकालीन आर्थिक तथा सामाजिक सुरक्षाको व्यवस्था गर्ने सहमतिअनुसार मृतककी पत्नी एकमाया नेपालीलाई योग्यता र क्षमताका आधारमा काठमाडौँ महानगरपालिकाले रोजगारी उपलब्ध गराउनेछ। आश्रित छोरीको उच्च शिक्षासम्मको अध्ययन खर्चको व्यवस्था पनि महानगरले गर्नेछ भने यसका लागि नेपाल सरकारका सम्बन्धित निकायले आवश्यक सहजीकरण गर्नेछन्।
साथै महानगरपालिकाले मृतक परिवारलाई राहतस्वरूप उपयुक्त रकम उपलब्ध गराउने, अन्त्येष्टि तथा काठमाडौँमा हुने काजकिरियाको सम्पूर्ण व्यवस्थापन गर्ने र परिवारका सदस्यको आवतजावत तथा काजकिरिया अवधिभरको बसोबास र अन्य आवश्यक खर्चसमेत व्यहोर्ने सहमति भएको छ।
सहमतिपत्रमा नेपाल सरकार तथा काठमाडौँ महानगरपालिकाका तर्फबाट प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले हस्ताक्षर गरेका छन्। पीडित परिवारका तर्फबाट मृतककी पत्नी एकमाया नेपाली, बुवा चिने नेपाली, आमा सौरी नेपाली, दाजु मदन नेपाली र बहिनी सुन्दरी नेपालीले हस्ताक्षर गरेका छन्।

