काठमाडौं । सर्लाहीमा एक युवकले आत्मदाह प्रयास गरेका छन् ।
शुक्रबार सर्लाहीको गौडेता नगरपालिका–१० का ३५ वर्षीय विवेक मण्डलले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जानकारी दिएकाे छ ।
आगो लगाउनुको विस्तृत कारण खुलेको छैन। उनलाई शुक्रबार नै हेलिकप्टरबाट काठमाडौं ल्याइएको नेपाल प्रहरीले बताएको छ ।
गोडैता नगरपालिका–१० सिसौटियाका उपेन्द्र मण्डलका ३४ वर्षिय छोरा विवेक मण्डलले शुक्रबार दिउँसो घरबाट निस्किएपछि सडकमा पुगेर शरीरमा पेट्रोल खन्याई आगो लगाएका हुन् ।
उनलाई प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचार पछि थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौँ पठाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।
घरमा विवाद भएपछि विवेक घरबाट निस्किएका थिए। त्यसपछि सडकमा पुगेर उनले शरीरमा पेट्रोल खन्याई आगो लगाएका थिए ।
स्थानीयवासी र प्रहरीको सहयोगमा तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पुर्याइएको थियो । विवेकको मानसिक अवस्था केही समयदेखि असन्तुलित रहेको प्रहरीले जनाएको छ ।
विवेकले बीएससी उत्तीर्ण गरेका थिए । उनले करिब डेढ वर्ष निजी क्षेत्रमा जागिर गरेका थिए भने पछिल्ला दुई वर्षदेखि घरमै बस्दै आएका थिए।
साथै, आफ्नो वडामा सञ्चालन हुने विकास निर्माणका कामको गुणस्तरबारे चासो राख्ने, अनुगमन गर्ने तथा ठेकेदार वा उपभोक्ता समितिका प्रतिनिधिसँग बेला–बेला विवाद गर्ने गरेको एक स्थानीयले बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
(नोट: समाचारमा प्रयुक्त तस्विर AI द्वारा निर्मित हो ।)

