काठमाडौँ – देशभर मनसुनी वायु सक्रिय रहेकाले आज शनिबार पनि अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा औसत स्थानभन्दा केही उत्तरतर्फ रहेकाले मौसम बदली भएको हो।
महाशाखाका अनुसार अहिले देशभर सामान्यदेखि पूर्ण बदली छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो देशभर अधिकांश स्थानमा बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। तराईका केही स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी एवं तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
आज राति पनि मौसम बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनीका पहाडी क्षेत्र तथा कोशीका पहाडी र गण्डकी तथा लुम्बिनीका तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

