सुधिर कर्माचार्य
काठमाडौँ । व्यवसाय सञ्चालन गर्ने तर कर तथा कानुनी प्रक्रियाबारे पर्याप्त जानकारी नहुँदा व्यवसायीले विभिन्न प्रशासनिक झन्झट र अन्योल व्यहोर्नुपर्ने अवस्थालाई ध्यानमा राख्दै बुढानीलकण्ठ नगरपालिका वडा नं. ५ मा करदाता अभिमुखीकरण तथा व्यवसाय प्रवर्द्धनसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। स्थानीय कर प्रणाली, व्यवसाय दर्ता तथा सञ्चालनका क्रममा पूरा गर्नुपर्ने कानुनी प्रक्रिया, करदाताका अधिकार तथा दायित्व र व्यवसाय प्रवर्द्धनका विषयमा व्यवसायी तथा करदातालाई व्यावहारिक जानकारी उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। वडा नं. ५ स्थित शिवपुरी पार्टी प्यालेसमा आयोजित कार्यक्रममा स्थानीय व्यवसायी, उद्यमी, करदाता तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रमको सभापतित्व वडा सदस्य रणबहादुर लामाले गर्नुभएको थियो।
करदाताका समस्या बुझ्ने कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष कृष्णबहादुर शाहले करदाताले करसम्बन्धीका विषयमा भोगिरहेको समस्या, अन्योल र जिज्ञासा बुझ्न तथा आवश्यक जानकारी प्रत्यक्ष रूपमा उपलब्ध गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयको थियो ।
स्थानीय सरकार र व्यवसायीबीच नियमित संवाद तथा सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उहाँले व्यवसायीका समस्या पहिचान गरी सम्भव भयसम्म समाधानका उपाय खोज्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो। वडा अध्यक्ष शाहले व्यवसायीलाई कर तिर्ने विषयमा मात्र जानकारी दिनेभन्दा पनि व्यवसाय कसरी व्यवस्थित रूपमा सञ्चालन गर्ने, कानुनी प्रक्रिया कसरी पूरा गर्ने र स्थानीय सरकारसँग कसरी समन्वय गर्ने भन्ने विषयमा समेत सचेत गराउनुपर्ने आवश्यकता औँल्याउनुभएको थियो।
सी.ए. हरुबाट कर तथा व्यावसायिक कानुनबारे प्रशिक्षण कार्यक्रमको मुख्य सत्रमा चार्टर्ड अकाउन्टेन्ट (सि.य.) राजकुमार उप्रेती र सि. य. सौगात सिजापतीले कर तथा व्यावसायिक कानुनसम्बन्धी जानकारीमूलक प्रस्तुति दिनुभएको थियो।
बिहान १०ः३० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन भएको प्रशिक्षणमा व्यवसायीले आफ्नो व्यवसाय सञ्चालन गर्दा ध्यान दिनुपर्ने करसम्बन्धी विषय, व्यवसाय दर्ता तथा प्रक्रियागत पक्ष, करदाताका दायित्व तथा व्यावसायिक कानुनका आधारभूत विषयमा जानकारी दिइएको थियो। विज्ञहरूले कर प्रणालीलाई केवल कर तिर्ने प्रक्रियाका रूपमा मात्र नहेरी व्यवसायलाई कानुनी र व्यवस्थित बनाउने महत्वपूर्ण पक्षका रूपमा बुझ्नुपर्ने विषयमा जोड दिएका थिए। व्यवसाय दर्ता र प्रक्रियालाई सहज बनाउने विषयमा छलफल
कार्यक्रममा व्यवसाय दर्ता तथा सम्बन्धित प्रशासनिक प्रक्रियालाई थप सरल, स्पष्ट र व्यवसायीमैत्री बनाउने विषयमा समेत छलफल गरिएको थियो।
त्यस्तै, स्थानीय सरकारसँग व्यवसायीको समन्वय कसरी प्रभावकारी बनाउने, व्यवसाय सञ्चालनका क्रममा देखिने समस्या कसरी सम्बन्धित निकायसम्म पुर्याउने तथा नयाँ र पुराना उद्यमीलाई कसरी प्रोत्साहित गर्ने भन्ने विषयमा पनि अन्तरक्रिया भएको थियो।
कार्यक्रममा व्यवसाय प्रवर्द्धन तथा उद्यमशीलता विकास, व्यवसाय दर्ता प्रक्रियाको सहजीकरण, स्थानीय सरकारसँगको सहकार्य तथा नयाँ उद्यमीलाई प्रोत्साहन लगायतका विषयलाई प्राथमिकताका साथ उठाइएको थियो।प्रशिक्षणपछि सञ्चालन गरिएको प्रश्नोत्तर तथा अन्तरक्रिया सत्र कार्यक्रममा सहभागी व्यवसायीका लागि महत्वपूर्ण पक्ष बनेको थियो। सहभागीहरूले करसम्बन्धी आफ्नो जिज्ञासा, व्यवसाय सञ्चालनका क्रममा देखिएका व्यावहारिक समस्या तथा कानुनी प्रक्रियासम्बन्धी प्रश्न विज्ञहरूसमक्ष प्रत्यक्ष रूपमा राखेका थिए। विज्ञहरूले सहभागीका प्रश्नको जवाफ दिँदै आवश्यक प्रक्रियाबारे स्पष्ट पार्नुभएको थियो। सहभागी व्यवसायीहरूले करसम्बन्धी विषयमा प्रत्यक्ष रूपमा विज्ञसँग छलफल गर्न पाउँदा आफ्ना अन्योल हटाउन सहयोग पुगेको बताएका थिए। उनीहरूले स्थानीय तहबाट यस्ता कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गर्न सके व्यवसायी र कर प्रशासनबीचको समन्वय अझ प्रभावकारी बन्ने धारणा राखेका थिए। करदाता र स्थानीय सरकारबीच संवाद आवश्यक रहेको साथै स्थानीय तहमा व्यवसाय सञ्चालन गर्ने व्यवसायीले कर, दर्ता, नवीकरण तथा विभिन्न प्रशासनिक प्रक्रियाबारे स्पष्ट जानकारी पाउनु महत्वपूर्ण मानिन्छ। अर्कोतर्फ, स्थानीय सरकारका लागि पनि व्यवसायीका वास्तविक समस्या, गुनासा र आवश्यकतालाई प्रत्यक्ष रूपमा बुझ्ने अवसर यस्ता कार्यक्रमले प्रदान गर्छ।
बुढानीलकण्ठ–५ मा आयोजित कार्यक्रमले करदाता, व्यवसायी, विज्ञ र स्थानीय सरकारबीच प्रत्यक्ष संवादको वातावरण निर्माण गर्नुका साथै व्यवसाय प्रवर्द्धन र करसम्बन्धी सचेतना बढाउने प्रयास गरेको आयोजक पक्षको भनाइ छ। कार्यक्रममा करसम्बन्धी जानकारीसँगै डिजिटल प्रविधि तथा कृत्रिम बौद्धिकता (AI) सम्बन्धी सीप विकासको सन्देश समेत प्रस्तुत गरिएको थियो। कार्यक्रमस्थलमा राखिएको सूचना अनुसार ‘डिजिटल सीप सिकौं, AI सँग अघि बढौं’ भन्ने अवधारणालाई समेत जोड दिइएको थियो।
यसले परम्परागत व्यवसाय सञ्चालनसँगै डिजिटल प्रविधि र नयाँ सीपको प्रयोगमार्फत व्यवसायलाई समयअनुकूल बनाउनुपर्ने आवश्यकतातर्फ पनि ध्यानाकर्षण गराएको छ। भने ,साथै आगामी हुने य.आई . सम्बन्धि जानकारी मुलक कार्यक्रममा स्थानीय जनसमुदाय लाई व्यापक सक्रिय सहभागिता को विशेष अनुरोध पनि गरिएको थियोे ।

