काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सतर्कता केन्द्रलाई भ्रष्टाचारविरुद्धको लडाइँमा अझ प्रभावकारी र सक्रिय भूमिका निर्वाह गर्न निर्देशन दिएकी छन्। केन्द्रका सचिव सरजू कुमार वैद्यसँग सोमवार भएको भेटमा प्रधानमन्त्रीले जेनजी आन्दोलनलाई नै भ्रष्टाचारविरोधी जनआन्दोलनका रूपमा परिभाषित गर्दै केन्द्रको भूमिकालाई बलियो बनाउन आग्रह गरिन्।
प्रधानमन्त्री कार्कीले सार्वजनिक संस्थानमा भइरहेका ढिलासुस्ती, अनियमितता र भ्रष्टाचार सम्बन्धी उजुरीको द्रुत र निष्पक्ष सुनुवाइ गर्न सतर्कता केन्द्रलाई निर्देश दिइन्। उनका अनुसार भ्रष्टाचारपछि दण्ड दिनेभन्दा भ्रष्टाचार हुन नदिने वातावरण बनाउनु सरकारको प्राथमिकता हो।
उनले भनिन्— “सार्वजनिक निकायबाट प्रदान हुने सेवामा प्रभावकारिता ल्याउन नियमन र अनुगमन सुदृढ गर्नुपर्छ। केन्द्रका निर्देशनहरू कार्यान्वयन भए–नभएको नियमित रूपमा अनुगमन गर्नुहोस्।”
प्रधानमन्त्री कार्कीले विकास–निर्माणका योजनामा गुणस्तर, समयसीमा र लागतको कडाइका साथ पालना गराउने जिम्मेवारी केन्द्रले वहन गर्नुपर्ने बताइन्। प्राविधिक परीक्षणदेखि गुणस्तरीयता प्रमाणीकरणसम्म केन्द्रको सक्रियता आवश्यक रहेको उनको भनाइ थियो।
यसका लागि आवश्यक जनशक्ति र वित्तीय स्रोतको व्यवस्थापन गर्न पनि उनले निर्देशन दिइन्। आम नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी सतर्कता केन्द्रको उपस्थिति र प्रभावकारिता थप प्रस्ट देखिने वातावरण बनाउन प्रधानमन्त्री कार्कीले जोड दिएकी थिइन्।

