काठमाडौं — राष्ट्रिय कर दिवस–२०८२ को अवसरमा आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा बढी कर तिर्ने उत्कृष्ट करदातालाई सम्मान गरेको छ। क्षेत्रगत रूपमा उच्च योगदान पुर्याउने कम्पनी, संस्था र व्यक्तिगत करदातालाई आज आयोजित कार्यक्रममा सम्मानित गरिएको हो।
सबैभन्दा बढी आयकर दाखिला गर्ने कम्पनीका रूपमा नेपाल दूरसञ्चार प्राधिकरण उत्कृष्ट करदाता घोषित भयो। एकलौटी फर्ममध्ये सर्वाधिक आयकर तिर्ने थर्ड आइ इन्टरनेशनल, वस्तु निर्याततर्फ डावर नेपाल प्रालि, सूचना–प्रविधि सेवातर्फ ओरिक्स नेपाल प्रालि, र कृषि तथा पशुपक्षीजन्य उद्योगमा पोषक ब्रिडर फार्म प्रालि सम्मानित भए।
बैंकिङ तथा बीमा क्षेत्रतर्फ नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड, स्वास्थ्य तथा शिक्षामा नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, पर्यटन व्यवसायतर्फ सोल्टी होटल लिमिटेड, वस्तु व्यापारमा भाटभटेनी सुपर मार्केट, ऊर्जाआधारित उद्योगमा भोटेकोशी पावर कम्पनी, र रेमिट्यान्स तथा मनी ट्रान्सफरतर्फ आईएमई लिमिटेडले उत्कृष्ट करदाताको सम्मान पाए।
व्यक्तिगत करदाता श्रेणीमा सबैभन्दा बढी आयकर तिर्ने राजबहादुर शाहलाई पुरस्कृत गरिएको छ।
वार्षिक कारोबारका आधारमा ५० करोडदेखि १ अर्बसम्म कारोबार गर्नेमा सीडिएस एन्ड क्लियरिङ लिमिटेड, र ५० करोडसम्म कारोबार गर्नेतर्फ भिएफ सर्भिसेज प्रालि सम्मानित भए।
२०७६ देखि २०८२ सम्म लगातार सबैभन्दा बढी मूल्य अभिवृद्धि कर (भ्याट) दाखिला गर्ने संस्थाका रूपमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, र विशेष उद्योगतर्फ युनिलिभर नेपाल उत्कृष्ट करदाता घोषित भए।
गतवर्ष उत्कृष्ट कार्यसम्पादन गर्ने कार्यालयका रूपमा आन्तरिक राजस्व कार्यालय बाग्लुङलाई पनि सम्मान गरिएको विभागले जनाएको छ।

