काठमाण्डौ । साहित्यकार एवम् अग्रज साहित्यिक पत्रकार नगेन्द्रराज शर्माको निधन भएको छ । शर्माको ८९ वर्षको उमेरमा बुधबार बिहान निधन भएको हो । शर्मा केही समयदेखि मुटुसम्बन्धी रोगसँगै मधुमेह र कलेजोको रोगबाट पीडित थिए ।
वि.सं. २०२७ सालदेखि साहित्यिक द्वैमासिक पत्रिका ‘अभिव्यक्ति’को सम्पादन तथा प्रकाशनमा सक्रिय शर्मा आफू स्वयम् कथाकार तथा उपन्यासकार हुन् । शर्माको ‘दिवास्वप्न’ र ‘महापुरुष’ उपन्यास प्रकाशित छ भने कथाकृति ‘पिपलको बोटमुनि’ समेत प्रकाशित छ ।
उनको सम्पादनमा प्रकाशित ‘अभिव्यक्ति’मा आफ्ना रचना प्रकाशित गरेरै धेरै साहित्यकार चर्चामा आएका छन् ।
‘अभिव्यक्ति’लाई लामो समय सम्पादन गरेका शर्मा पछिल्लो समय पत्रिकाको संरक्षक भूमिकामा थिए ।
शर्माका पत्नी र दुई छोरा छन् । आजै पशुपती आर्यघाटमा शर्माको अन्त्येष्ठी गरिने पारिवारिक स्रोतले जनाएको छ ।

