काठमाडौँ । फिफा विश्वकप–२०२६ को उपाधिका लागि युरोपियन च्याम्पियन स्पेन र साविक विश्वविजेता अर्जेन्टिना आमनेसामने हुने भएका छन्। दुई शक्तिशाली टोलीबीचको बहुप्रतीक्षित फाइनल आइतबार अमेरिकाको न्युयोर्क–न्यु जर्सी स्टेडियममा हुनेछ।
स्पेनले सेमिफाइनलमा फ्रान्सलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो भने अर्जेन्टिनाले इंग्ल्यान्डमाथि २–१ को रोमाञ्चक पुनरागमन जित निकाल्दै लगातार दोस्रो विश्वकप फाइनलमा आफ्नो स्थान बनाएको हो।
विश्व फुटबलका दुई फरक शैलीका टोलीबीच हुने यो प्रतिस्पर्धाले विशेष चर्चा पाएको छ। प्रतियोगिताभर सर्वाधिक गोल गर्दै आएको अर्जेन्टिना आक्रमणमा बलियो देखिएको छ भने स्पेनले प्रतियोगितामा सबैभन्दा कसिलो रक्षात्मक प्रदर्शन गर्दै निकै कम गोल बेहोरेको टोलीका रूपमा फाइनल पुगेको छ।
कप्तान लियोनल मेसीका लागि यो सम्भवतः अन्तिम विश्वकप फाइनल हुनेछ। लगातार दोस्रो विश्वकप उपाधि जित्दै इतिहास रच्ने लक्ष्यमा रहेको अर्जेन्टिनाले चौथो विश्वकप उपाधिको खोजी गर्नेछ। यता सन् २०१० पछि पहिलोपटक विश्वकप फाइनल पुगेको स्पेन दोस्रो पटक विश्व च्याम्पियन बन्ने लक्ष्यसहित मैदान उत्रिनेछ।
अर्कोतर्फ तेस्रो स्थानका लागि इंग्ल्यान्ड र फ्रान्सबीच पनि प्रतिस्पर्धा हुनेछ। इंग्ल्याण्ड अर्जेन्टिनासित बाहिएको टोली हो भने फ्रान्स स्पेनसितको खेलमा बाहिएको हो ।

