काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिमा साहित्यकार कुमार नगरकोटी र उपकुलपतिमा अभिनाश श्रेष्ठ सिफारिस भएका छन्।
प्रज्ञा प्रतिष्ठानका पदाधिकारी छनोट गर्न गठित समितिले नगरकोटीलाई कुलपति, श्रेष्ठलाई उपकुलपति तथा रामलाल जोशीलाई सदस्य सचिवका रूपमा सिफारिस गरेको स्रोतले जनाएको छ।
त्यसैगरी प्राज्ञ परिषद सदस्यका लागि तीर्थ गुरुङ, राजन मुकारुङ, दीपक सापकोटा, प्रगति राई, नवीन अभिलाषी, प्रतिसरा सायमी र कृष्ण सर्वहारीको नाम सिफारिस गरिएको स्रोतले बताएको छ।
मन्त्रालय स्रोतका अनुसार ब्रजेश खनालको नाम पनि चर्चामा थियो। तर उनलाई नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपतिमा सिफारिस गरिएको बताइएको छ।
यसअघि नेपाल प्रज्ञा प्रतिष्ठानका लागि नयनराज पाण्डे, शिवानी सिंह थारु, विना थिङ र मञ्चला झाँलगायतका स्रष्टाको नाम पनि चर्चामा आएको थियो। तर उनीहरूले प्रतिष्ठानमा जान अस्वीकार गरेको स्रोतको दाबी छ।
छनोट समितिको संयोजक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल रहेका छन् भने सदस्यमा नारायण ढकाल र अर्चना थापा छन्।
स्रोतका अनुसार सम्भवतः आज बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले अन्तिम निर्णय गर्नेछ।

