काठमाडौँ । नेपाल एपीएफ स्कुल, कीर्तिपुरको करिब ११ करोड रुपैयाँ अनियमितता प्रकरणमा पक्राउ परेकी सशस्त्र प्रहरी निरीक्षक (लेखातर्फ) कल्पना गुरुङले मुख्यालयलाई पटक–पटक झुटा विवरण र नक्कली बैंक भौचर देखाएर झुक्याएको खुलासा भएको छ।
कीर्तिपुरस्थित विद्यालयकी लेखा अधिकृत रहेकी गुरुङलाई सशस्त्र प्रहरी प्रधान कार्यालयको पत्रपछि जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरी ठगी तथा आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ। जिल्ला अदालत काठमाडौँले उनलाई पहिलो चरणमा सात दिन हिरासतमा राख्न अनुमति दिएको छ।
अनुसन्धानअनुसार २०८२ मंसिर अन्तिम साता विद्यालयबाट दुई करोड रुपैयाँ कल्याणकारी सेवा केन्द्रको खातामा जम्मा गरिएको भन्दै गुरुङले मुख्यालयमा पत्र पठाएकी थिइन्। तर एक महिनापछि बैंक विवरण रुजु गर्दा उक्त रकम खातामा नपुगेको खुलेको थियो। त्यसपछि पटक–पटक ताकेता हुँदा उनले आफू बिदामा रहेको र विद्यालय प्रमुख कार्यालयबाहिर रहेकाले फर्किएपछि रकम जम्मा गर्ने जवाफ दिएकी थिइन्।
पछि कल्याणकारी सेवा केन्द्रले विद्यालयको सञ्चालन बजेटसमेत रोक्का गरी स्पष्टीकरण मागेपछि गुरुङले बैंकिङ प्रणालीमा प्राविधिक समस्या आएको भन्दै थप रकमसहित पाँच करोड रुपैयाँ जम्मा गरिएको दाबी गर्दै बैंक भौचर पेश गरेकी थिइन्। तर बैंकबाट प्राप्त आधिकारिक विवरणले त्यो दाबी पनि झुटो सावित गरेको थियो।
घटनापछि सशस्त्र प्रहरी नायब महानिरीक्षक युवराज अर्यालको नेतृत्वमा गठित छानबिन समितिले गुरुङलाई रकम हिनामिनाको मुख्य जिम्मेवार ठहर गरेको थियो। आन्तरिक प्रतिवेदनअनुसार उनले समितिसमक्ष रकम अनियमितता गरेको स्वीकारसमेत गरेकी थिइन्। त्यसपछि थप अनुसन्धानका लागि उनको जिम्मा नेपाल प्रहरीलाई लगाइएको हो।
प्रहरी अनुसन्धानमा विद्यालयको रकम गुरुङले आफ्ना साथी लिला लामाको खातामा पठाएको खुलेको छ। सोही आधारमा लामालाई पनि पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ।
सशस्त्र प्रहरीका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा विद्यालयले विद्यार्थी शुल्कबाट करिब ११ करोड रुपैयाँ संकलन गरेको थियो। त्यसमध्ये करिब नौ करोड रुपैयाँ खर्च भई दुई करोड रुपैयाँ बचत देखिए पनि आर्थिक वर्ष २०८२/०८३ मा विद्यार्थीबाट उठेको शुल्क समयमै कल्याणकारी सेवा केन्द्रको खातामा जम्मा नगरेपछि अनियमितताको रहस्य बाहिरिएको हो।
२०६२ सालमा स्थापना भएको नेपाल एपीएफ स्कुलमा कर्मचारीका आश्रित परिवार तथा सर्वसाधारणका सन्ततिलाई सहुलियतपूर्ण शिक्षा प्रदान गरिँदै आएको छ। विद्यालयको भौतिक संरचना तथा पूर्वाधार विकासमा कल्याणकारी सेवा केन्द्रले हालसम्म करिब १३ करोड रुपैयाँ लगानी गरेको सशस्त्र प्रहरीको भनाइ छ।

