काठमाडौँ । राहदानी विभागअगाडि आफ्नै शरीरमा आगो लगाएर गम्भीर घाइते भएका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीलाई थप उपचारका लागि भारत लैजाने तयारी तत्कालका लागि स्थगित गरिएको छ।
वीर अस्पतालको बर्न आईसीयूमा भेन्टिलेटरमा उपचाररत नेपालीको स्वास्थ्य अवस्था अस्थिर बनेपछि चिकित्सकहरूले अहिले स्थानान्तरण गर्नु जोखिमपूर्ण हुने सुझाव दिएका हुन्। चिकित्सकहरूको सल्लाहपछि सरकारले उनको भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचार गराउने तयारी रोकेको हो।
यसअघि चिकित्सकहरूको प्रारम्भिक सुझावका आधारमा सरकारले एयर एम्बुलेन्सको व्यवस्था गर्दै भारत लैजान सबै तयारी पूरा गरेको थियो। गृहमन्त्री सुधन गुरुङ स्वयं समन्वयमा खटिएका थिए भने विमानस्थलसम्म सुरक्षित र छिटो पुर्याउन नेपाल प्रहरी र ट्राफिक प्रहरी परिचालन गरिएको थियो। भारत पुगेपछि विमानस्थलदेखि एम्स अस्पतालसम्मको सम्पूर्ण व्यवस्थासमेत मिलाइएको थियो। सरकारले उपचारको सम्पूर्ण खर्च पनि व्यहोर्ने घोषणा गरेको छ।
चिकित्सकहरूले नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्र भारत लैजान उपयुक्त हुने सुझाव दिएका छन्। त्यसअनुसार गृहमन्त्री गुरुङ तथा प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका सदस्यहरू वीर अस्पतालमै तयारी अवस्थामा खटिएका छन्।
बिहीबार दिउँसो करिब ३ बजे वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका नेपालीको शरीरको करिब ५५ प्रतिशत भाग जलेको छ।
हाल प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा. निर्मण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठसहित २१ सदस्यीय विशेषज्ञ टोली उनको उपचारमा खटिएको छ। टोलीले रक्तचाप नियन्त्रणमा राख्दै स्वास्थ्य अवस्था स्थिर बनाउन निरन्तर सघन उपचार गरिरहेको छ।

