काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहँदा शुक्रबार अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभरको आकाश अधिकांश बदली रहेको छ भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र मनसुनको न्यूनचापीय रेखा औसत स्थानभन्दा केही उत्तरतर्फ रहे पनि आगामी दिनमा नेपालतर्फ थप नजिकिने सम्भावना रहेको जनाएको छ।
आज दिउँसो देशभर अधिकांश स्थानमा बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका धेरै स्थान र तराईका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। लुम्बिनीको तराईसहित पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
रातिको समयमा पनि मौसम यथावत रहने अनुमान छ। विशेषगरी कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका थोरै स्थान तथा मधेससहित ती प्रदेशका तराई, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।
काठमाडौँ उपत्यकामा गएरातिदेखि नै वर्षा भइरहेको छ। मौसमविद् विभूति पोखरेलका अनुसार दिउँसो र राति दुवै समयमा उपत्यकामा भारी वर्षा हुने सम्भावना रहेको छ। उनका अनुसार अहिले वर्षा केही कम भए पनि फेरि बदली भई पानी पर्ने सम्भावना उच्च छ।
महाशाखाका अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम पानी परे हल्का, १० देखि ५० मिलिमिटरसम्म मध्यम, ५० देखि १०० मिलिमिटरसम्म भारी, १०० देखि २०० मिलिमिटरसम्म धेरै भारी र २०० मिलिमिटरभन्दा बढी वर्षा भए अति भारी वर्षा भएको मानिन्छ।
यस्तै, मौसम पूर्वानुमानमा प्रयोग हुने शब्दावलीअनुसार १० प्रतिशतभन्दा कम क्षेत्रमा वर्षा भए ‘एक–दुई स्थान’, १० देखि ३० प्रतिशतमा ‘थोरै स्थान’, ३० देखि ५० प्रतिशतमा ‘केही स्थान’, ५० देखि ८० प्रतिशतमा ‘धेरै स्थान’ र ८० प्रतिशतभन्दा बढी क्षेत्रमा वर्षा हुने सम्भावना भए ‘अधिकांश स्थान’ भन्ने जनाइन्छ।

