काठमाडौँ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आइआरजिसी) को नौसेनाले विश्वकै रणनीतिक समुद्री व्यापारिक मार्गमध्ये एक होर्मुज जलमार्ग अर्को सूचना जारी नभएसम्म बन्द गर्ने घोषणा गरेको छ। अमेरिकी हस्तक्षेप जारी रहेसम्म कुनै पनि जहाजलाई उक्त जलमार्गबाट आवतजावत गर्न नदिइने आइआरजिसीले जनाएको छ।
इरानको सरकारी सञ्चारमाध्यम आइआरआइबीका अनुसार विदेशी हस्तक्षेप तथा इरानले अवैध ठहर गरेका समुद्री मार्ग प्रयोग गर्ने प्रयासविरुद्ध कडा कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
यसअघि ट्रान्सपोन्डर (जहाजको पहिचान प्रणाली) बन्द गरी इरानले अवैध मानेको मार्गबाट प्रवेश गर्न खोजेको एक जहाजलाई रोक्न चेतावनी दिइएको थियो। अर्ध–सरकारी फार्स समाचार एजेन्सीका अनुसार चेतावनीको बेवास्ता गरेपछि उक्त जहाजलाई क्रुज मिसाइल प्रहार गरी रोकिएको दाबी गरिएको छ।
आइआरजिसीले केही अन्य जहाजले पनि स्वीकृत समुद्री मार्ग प्रयोग नगरी सुरक्षा निर्देशन उल्लङ्घन गरेको जनाएको छ। समुद्री सुरक्षामा जोखिम बढेकाले जलमार्ग अस्थायी रूपमा बन्द गर्ने निर्णय गरिएको इरानको दाबी छ।
इरानले भविष्यमा आफ्नो हितविरुद्ध कुनै नयाँ आक्रमण वा उल्लङ्घन भए क्षेत्रका शत्रु सैन्य अड्डामाथि समेत प्रतिकारात्मक आक्रमण गरिने चेतावनी दिएको छ।
विश्वव्यापी कच्चा तेल आपूर्तिको ठूलो हिस्सा होर्मुज जलमार्गबाट हुने भएकाले इरानको यस घोषणाले अन्तर्राष्ट्रिय ऊर्जा बजार, तेलको मूल्य र विश्व व्यापारमा थप तनाव उत्पन्न हुने चिन्ता बढाएको छ।

