काठमाडौं, साउन ९ — नेकपा (एमाले) र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकार गठनको ढाँचा र शक्ति बाँडफाँटलाई अन्तिम रूप दिन शीर्ष नेतृत्वबीच शनिबार लामो छलफल भएको छ।
स्रोतका अनुसार सुरुमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच दुई पक्षीय वार्ता भएको थियो। केही समयपछि नेकपाका सहसंयोजक माधवकुमार नेपाल पनि छलफलमा सहभागी भएका हुन्।
बैठकमा प्रदेश सरकार गठनका लागि आवश्यक मन्त्रालय बाँडफाँट, नेतृत्वको मोडालिटी तथा कार्यान्वयनको प्रक्रियाबारे गहन छलफल भइरहेको जनाइएको छ। छलफल तीन घण्टाभन्दा बढी समयदेखि जारी रहेको र आजै लिखित सहमतिमा पुग्ने प्रयास भइरहेको एक नेताले बताएका छन्।
छलफलको स्थान भने गोप्य राखिएको छ। यद्यपि, दुवै दलबीच प्रदेश सरकार संयुक्त रूपमा गठन गर्ने राजनीतिक सहमति यसअघि नै भइसकेकाले अहिले त्यसको कार्यान्वयनको खाका टुंग्याउने काम भइरहेको बताइएको छ।
नेताहरूका अनुसार सहमति भएमा प्रदेश सरकार गठनको प्रक्रिया छिट्टै अघि बढ्ने अपेक्षा गरिएको छ।

