-जयराम बिडारी
‘जदौ’ क्रान्ति नायक दाहाल यज्ञनिधिको ७३ औँ जन्म जयन्ती विशेष समारोह भव्यतापूर्वक मनाउने सिलसिलामा नागार्जुन वाङ्मय प्रतिष्ठानले आफ्नो मासिक सुप्रभात काव्य गोष्ठी पनि सम्पन्न गरेको छ । प्रा.डा. सुधा त्रिपाठीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा डा. हरिप्रसाद सिलवाल, डा. विनोद मन्जन, डा. रमेश शुभेच्छु र पवित्रा सुनार ‘सानु’ अतिथि वक्ताका रुपमा थिए भने रत्ननिधि रेग्मी ‘शुक्राचार्य’ कवि विशेषका रुपमा सहभागी थिए । दाहाल यज्ञनिधिकी जीवनसँगिनी सुधा दाहालकको पनि सो कार्यक्रममा उपस्थिति थियो । यसका साथै पुरस्कार छनोट उपसमितिका संयोजक डा. विनोद मन्जन, रोजन राई र गौरी दाहालको सहभागिता रहेको सो कार्यक्रममा पूर्णविरामका कविता पनि वाचन गरिएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रा.डा. सुधा त्रिपाठीले दाहाल यज्ञनिधिको सान्निध्यबारे चर्चा गर्दै दाहालको बुलन्द स्वरको तारिफ गरिन् । उनले आफ्ना कविताहरू साहित्य संसारमा आउँदा र तिनको पच्चीस, पचास रुपैयाँ पारिश्रमिक पाउँदा फुरूङ्ग हुने गरेको गरेको अनुभूति साझा गरिन् । दाहालको हक्की स्वभावबारे परिचर्चा गर्दै त्रिपाठीले आफ्ना राजनीतिक आस्था फरक हुँदाहुँदै पनि स्वभावमा धेरै समानता भएको स्विकारिन् । उनले आफूले ब्रह्मले देखेको लेख्न दाहालले कहिल्यै हात नकमाएको उल्लेख गरिन् ।आफ्नो कथनलाई पूर्णरूपमा दाहालको प्रशंसामा खर्चंदै त्रिपाठीले दाहाल निष्ठाका हिसाबले पूर्णतः समाजवादी भएको स्विकारिन् ।
कार्यक्रममा यस वर्षको जदौ पुरस्कार साहित्यकार प्रकाश सिलवाललाई अर्पण गरिएको थियो । प्रमुख अतिथि प्रा.डा. सुधा त्रिपाठी तथा दाहालकी जीवनसँगिनी सुधा दाहाल तथा नागार्जुन वाङ्मय प्रतिष्ठानका अध्यक्ष दिल पौडेलले सिलवाललाई पुरस्कार हस्तान्तरण गरेका थिए । पुरस्कृत व्यक्तित्व प्रकाश सिलवालले दाहाल यज्ञनिधिको सराहना गर्दै नागार्जुन वाङ्मयसँग दाहालको संलग्नता दरिलो भएको बताउँदै उनी नागार्जुन वाङ्मयका सल्लाहकारहरूको मियो भएको दाबी गरे । आर्थिक साम्राज्य फैलाइरहेका विभिन्न सङ्घ, संस्थाका विकृतिबारे पनि खुलेर बहस हुने गरेको सिलवालले स्मरण गरे ।
डा. रमेश शुभेच्छुले दाहाल यज्ञनिधिको जीवनका आएका व्यवधान र उतिखेर रेडियो नेपालमा कार्यक्रम ‘साहित्य संसार’ सञ्चालन गर्दा तत्कालीन व्यवस्थाले दिएका यातना र ताडनाका कथाहरूबारे खुलासा गरे । दाहालले शेषपछि शरीर दान गरेको प्रसङ्गदेखि सहजै मृगौला प्रत्यारोपण गर्न पाउनुपर्ने भनी राखेको अडानका विषय पनि शुभेच्छुले उठाए ।
पुरस्कार संयोजक निबन्धकार तथा समालोचक डा. विनोद मन्जनले पुरस्कृत व्यक्तित्व प्रकाश सिलवालको व्यक्तित्व र कृतित्वबारे मात्र प्रकाश पारेनन् बरु सिलवाललाई नै छनोट गर्नुपर्नाको कारण पनि खुलाए ।
समालोचक डा. हरिप्रसाद सिलवालले दाहाल यज्ञनिधिको साहित्यिक विशिष्टताबारे चर्चा गर्दै दाहाल यज्ञनिधिका निबन्ध अत्यन्त मोहनीय भएको भन्दै नपढिएमा एउटा युग नै पढ्न छुट्ने दाबी गरे । जे हो विषयवस्तु त्यही प्रस्तुत गर्नुपर्छ भन्ने दाहालको जीवन दर्शन रहेको सिलवालको जिकिर थियो ।
अतिथि वक्ता पवित्रा सुनार ‘सानु’ले कविताबाट आफ्ना भनाइ राख्दै दाहालको अद्भुत क्षमताको मुक्तकण्ठले सराहना गरिन् । सुनारले आदरार्थी ‘जदौ’लाई जसरी दलितले मात्र प्रयोग गर्ने हेय शब्दका रूपमा प्रयोग गरिन्थ्यो, दाहालले नै लाक्षणिक रुपमा यसलाई प्रयोग गरेर आम मान्छेको शब्दका रुपमा पुनः परिभाषित गरेको स्मरण गरिन् ।
दाहालकी जीवनसँगिनी सुधा दाहालले दिवङ्गत दाहालका क्रान्तिकारी आचरणका बारेमा चर्चा गर्दै दाहाल यज्ञनिधि सुधा सदनको स्थापनाबारे सङ्क्षिप्तमा प्रकाश पारिन् ।
रचना वाचन गर्नेहरूमा लक्ष्मण अधिकारी, रामदेव पाण्डे, गङ्गा खतिवडा, युवराज नास्तिक, शिवप्रसाद आचार्य, लक्ष्मणदेव पाण्डे, दिनेश खरेल, कृष्णप्रसाद पौडेल ‘जस्ताघरे’ लगायतका सर्जकहरूले आआफ्ना सिर्जना वाचन गरेका थिए । कवि पूर्णविरामका कविताका प्रतिस्पर्धीमध्ये चर्चित युवा गीतकार प्रमोद भण्डारी पुरस्कृत भए भने जदौ सम्मानबाट डा. हरिप्रसाद सिलवाल तथा विनोद मन्जन विभूषित भए ।
प्रतिष्ठानका अध्यक्ष दिल पौडेलले उक्त कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरे भने प्रतिष्ठानका महासचिव युवराज नास्तिकले सहजीकरण गरेको सो कार्यक्रमको उनैले बिट मारे ।

