काठमाडौँ — निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको आमनिर्वाचनलाई सहज बनाउन बैंक तथा वित्तीय संस्थासम्बद्ध सेवा नियमित रूपमा सञ्चालन हुने व्यवस्था मिलाइएको जनाएको छ।
आयोगका अनुसार यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै सरकारले तीन दिन सार्वजनिक बिदा दिएको छ। फागुपूर्णिमा तथा अन्य सार्वजनिक बिदाका कारण वित्तीय कारोबारमा अवरोध नआओस् भन्ने उद्देश्यले आवश्यक समन्वय गरिएको हो।
आयोगको निर्णय तथा अनुरोधअनुसार महालेखा नियन्त्रक कार्यालयमार्फत राजस्व दाखिलाको प्रबन्ध मिलाइएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालयबाट निर्वाचनसम्बन्धी कामको भुक्तानी निकासा, राजस्व दाखिलालगायत सेवा सञ्चालन गरिने आयोगले जनाएको छ। सो कार्यका लागि प्राविधिक जनशक्ति खटाई प्रणाली निर्वाध रूपमा चल्ने व्यवस्था गरिएको उल्लेख छ।
यस्तै नेपाल राष्ट्र बैंकले सरकारी कारोबार गर्ने एजेन्सी बैंक तथा राजनीतिक दल र उम्मेदवारले सञ्चालन गर्ने निर्वाचन प्रचारप्रसारसम्बन्धी बैंक खातामार्फत रकम दाखिला तथा भुक्तानीलगायत सेवा उपलब्ध गराउन आवश्यक समन्वय गरेको छ।
भुक्तानीसम्बन्धी प्रणाली र अन्य आवश्यक सेवा अविच्छिन्न रूपमा सञ्चालन हुने आयोगले जानकारी दिएको छ। यद्यपि, देशभर एकैदिन मतदान हुने भएकाले मतदानका दिन वित्तीय तथा बैंकिङ सेवा बन्द रहने र भोलिपल्ट फागुन २२ गतेदेखि यथावत् सञ्चालन हुने आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

