काठमाण्डौ — साउदी अरेबियाको राजधानी रियादस्थित अमेरिकी दूतावास परिसरमा ड्रोन आक्रमण भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
मङ्गलबार भएको प्रहारमा दुई ड्रोनले दूतावास परिसरलाई निशाना बनाएको संयुक्त राज्य अमेरिका र साउदी अरेबियाले पुष्टि गरेका छन्।
यद्यपि, दुतावास परिसरभित्र रहेको अमेरिकी केन्द्रीय गुप्तचर निकाय (सीआईए) स्टेशन नै लक्षित थियो कि थिएन भन्ने विषयमा आधिकारिक स्पष्टता आएको छैन।
समाचार संस्था र्यूटर्सका अनुसार जासूसी केन्द्र आक्रमणको प्रत्यक्ष लक्ष्य थियो भन्ने संकेत सार्वजनिक गरिएको छैन।
यसैबीच द वासिङटन पोस्टले प्राप्त गरेको अमेरिकी विदेश मन्त्रालयको सुरक्षा सूचनामा आक्रमणबाट दूतावास भवनको छतको भाग “भत्किएको” र भित्री भाग धुवाँले “दूषित” भएको उल्लेख छ। सो सूचनाअनुसार दूतावासमा “संरचनात्मक क्षति” पुगेको र कर्मचारीहरूलाई “सुरक्षित ठाउँमा आश्रय लिन” निर्देशन दिइएको बताइएको छ।
घटनापछि सुरक्षा सतर्कता बढाइएको छ। आक्रमणको जिम्मेवारीबारे तत्काल कुनै दाबी सार्वजनिक भएको छैन।

