काठमाडौँ। गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षको स्वागतका रूपमा आज तमु ल्होसार पर्व मनाउँदै छन्। ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई तमु ल्होसार भनिन्छ।
सूर्यको गति र तापसँग जोडिएको यो पर्व पुस महिनामा मनाइन्छ। गुरुङ बाहुल्य रहेका लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की र पर्वतजस्ता जिल्लामा सूर्यको ताप पहिले पर्ने विश्वासका कारण पुसमै तमु ल्होसार मनाउने परम्परा रहेको छ। यसै विश्वासअनुसार तामाङ समुदायले माघ र शेर्पा समुदायले फागुनमा ल्होसार मनाउने गर्दछन्।
जानकारहरूका अनुसार पुस १५ गतेको रात वर्षकै सबैभन्दा लामो हुने र त्यसपछि रात छोटिँदै जाने भएकाले पनि तमु ल्होसारलाई नयाँ चक्रको सुरुवातका रूपमा लिइन्छ।
तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ। पर्वलाई विशेष बनाउँदै राजधानीको टुँडिखेलमा गुरुङ समुदायले सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा सहभागीहरू परम्परागत भेषभूषामा सजिएर नाचगान तथा सांस्कृतिक प्रस्तुति दिइरहेका छन्।
यसै अवसरमा आइतबारदेखि टुँडिखेलमा सुरु भएको ल्होसार महोत्सवमा गुरुङ समुदायका परिकार, संस्कृति र जीवनशैली झल्किने प्रदर्शनीसमेत राखिएको छ। महोत्सवमा हजारौँ सर्वसाधारणको सहभागिता रहेको छ।

