काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई निर्वाचनको वातावरण बनाउन सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।
गोरखामा भएको भेटमा मन्त्री खरेलले मुख्यमन्त्री पाण्डेलाई सरकार प्रमुख र एक जिम्मेवार राजनीतिक दलका केन्द्रीय नेताको दोहोरो भूमिकामा रहेको उल्लेख गर्दै दुवै हैसियतको प्रभावकारी प्रयोग गरेर निर्वाचनको अनुकूल वातावरण बनाउन अनुरोध गरेका हुन्।
“सरकारको तर्फबाट पनि र एक जिम्मेवार राजनीतिक पार्टीको केन्द्रीय नेताको तर्फबाट पनि कुनै कञ्जुस्याइँ नगरी दुवै भूमिका निर्वाह गर्नुहुन मेरो विनम्र अनुरोध छ,” सोमबार मन्त्री खरेलले भने।
उनले आगामी निर्वाचन हुने विषयमा अब कुनै पनि शङ्का र प्रश्न नरहेको स्पष्ट पारे। सबै राजनीतिक दलले समानुपातिक उम्मेदवारको बन्द सूची पेस गरिसकेकाले निर्वाचन हुन्छ कि हुँदैन भन्ने बहस टुंगिएको उनको भनाइ छ।
“आज सबै पार्टीले बन्द सूची पेस गरेपछि निर्वाचन हुन्छ कि हुँदैन भन्ने प्रश्न समाप्त भएको छ,” उनले भने, “हामी निर्धारित मितिमै निर्वाचन गरेर जतिसक्दो चाँडो राजनीतिक दलको नासो राजनीतिक दललाई नै बुझाउन आतुर छौँ।”

