काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मतदान गरेका छन् ।
काठमाडौँ–३ का मतदाता रहेका लामिछानेले उपत्यका खानेपानी लिमिटेडको महाँकालचौरस्थित मतदान केन्द्रमा पुगेर आफ्नो मताधिकार प्रयोग गरेका हुन् । बिहानै मतदान केन्द्र पुगेका उनले सर्वसाधारणसँग सामान्य भेटघाटसमेत गरेका थिए ।
मतदानपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान सम्पन्न हुने विश्वास व्यक्त गरे । लोकतन्त्रलाई सुदृढ बनाउन सबै मतदातालाई जिम्मेवार र सचेत रूपमा मतदानमा सहभागी हुन उनले आग्रह गरे ।
आज देशभर प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मतदान जारी रहेको छ । सुरक्षा व्यवस्था कडा पारिएको छ भने मतदाताको उत्साहजनक उपस्थिति देखिएको छ ।

