काठमाण्डौ । रास्वपा सभापति रवि लामिछानेले काठमाडौँस्थित चुच्चेपाटीमा रहेको उपत्यका खानेपानी लिमिटेड मतदान केन्द्रबाट आफ्नो मताधिकार प्रयोग गरेका छन्।
मतदानअघि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यसपटकको निर्वाचनले मुलुकलाई स्पष्ट राजनीतिक निकास दिने विश्वास व्यक्त गरे। “जनताको मतले देशलाई स्थिरता र सही दिशातर्फ अघि बढाउनेछ,” उनले भने।
रास्वपाका सभापति लामिछाने चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन्।
यसैबीच, रास्वपाका वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुख बालेन्द्र साहले काठमाडौँ महानगरपालिका–९, तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण विद्यालय मतदान केन्द्रबाट मतदान गरेका छन्।
झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका साहले मतदानपछि लोकतान्त्रिक प्रक्रियालाई सुदृढ बनाउन नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताए।
निर्वाचनका क्रममा देशभर मतदाताको उत्साहजनक सहभागिता देखिएको छ। निर्वाचन आयोगले शान्तिपूर्ण र व्यवस्थित रूपमा मतदान सम्पन्न भइरहेको जनाएको छ।

