काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदाताको उत्सुकतालाई ध्यानमा राख्दै मतगणना प्रक्रिया छिटो सुरु गरिने बताएका छन्।
आज मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले मतपेटिका संकलन भएको २४ घण्टाभित्रै मतगणना सुरु भइसक्ने जानकारी दिए। उनका अनुसार मतदान सम्पन्न भई मतपेटिका सुरक्षित रूपमा संकलन गरिएपछि ढिलाइ नगरी गणना प्रक्रिया अघि बढाइनेछ।
‘मतदाताले मतदान गरेपछि आफूले रोजेको उम्मेदवार विजयी हुन्छ वा पराजित हुन्छ भन्ने चासो स्वाभाविक रूपमा रहन्छ,’ भण्डारीले भने, ‘त्यसैले मतदान सम्पन्न भएर मतपेटिका संकलन गरिएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गर्ने कोसिस हुन्छ।’
निर्वाचन आयोगले यसपटक गणना प्रक्रियालाई थप व्यवस्थित र पारदर्शी बनाउने तयारी गरेको जनाएको छ।

