काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य निर्वाचनमा पराजित घोषित गरिएका पूजा बास्तोला र ध्रुव थापामगर अन्ततः केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।
सोमबार बसेको रास्वपा निर्वाचन आयोगको बैठकले दुवैलाई केन्द्रीय सदस्यमा निर्वाचित घोषणा गर्ने निर्णय गरेको हो। आयोगका एक सदस्यका अनुसार त्रुटि सच्याइएको विवरण मंगलबार आयोगमा औपचारिक रूपमा पेश गरिनेछ।
रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत असार ७ देखि १२ गतेसम्म चितवनको भरतपुरमा सम्पन्न बन्दसत्रमा केन्द्रीय सदस्य तथा पदाधिकारीको निर्वाचन भएको थियो। तर, केन्द्रीय सदस्यमा पर्याप्त मत प्राप्त गरे पनि पूजा बास्तोला र ध्रुव थापामगर निर्वाचित सूचीमा परेका थिएनन्।
यसप्रति असन्तुष्टि जनाउँदै पूजा बास्तोलाले सर्वोच्च अदालत जाने घोषणा गरेकी थिइन्। उनले गण्डकी भूगोल तथा प्रवास समूहसमेत गरी ९१३ मत प्राप्त गरेकी थिइन्। तर आफूभन्दा कम मत ल्याएका उम्मेदवार निर्वाचित घोषित भएपछि उनले कानुनी प्रक्रिया अपनाउने निर्णय गरेकी थिइन्।
ध्रुव थापामगरले भने आफ्नो नाम समावेशी समूहमा समेटिनुपर्नेमा खुला समूहमा राखिएको भन्दै पार्टीको निर्वाचन आयोगमा उजुरी दिएका थिए।
निर्वाचन आयोगका एक सदस्यका अनुसार बढी मत प्राप्त गर्ने उम्मेदवारलाई आधार मान्दा पूजा बास्तोला स्वतः निर्वाचित हुने अवस्था रहेको र प्राविधिक त्रुटिका कारण उनको नाम छुटेको थियो। त्यस्तै, ध्रुव थापामगरले उम्मेदवारीका क्रममा ‘मगर’ नलेखी ‘ध्रुव थापा’ मात्र उल्लेख गरेका कारण उनको नाम सम्बन्धित समावेशी समूहमा समावेश हुन नसकेको बताइएको छ।
रास्वपामा खुला र विभिन्न क्लस्टर प्रणालीमार्फत ९९ जना केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था रहेको छ। ध्रुव थापामगरले आफ्नो नाम समावेशी समूहमा नपरेको विषयमा दिएको निवेदनमाथि अध्ययन गर्दा उनी आदिवासी जनजाति कोटाअन्तर्गत पर्ने निष्कर्ष निकालिएको आयोगले जनाएको छ।

