काठमाडौँ – फिफा विश्वकप २०२६ मा ठूलो उलटफेर भएको छ। चार पटकको विश्वविजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पाराग्वेले ऐतिहासिक रूपमा अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।
सोमबार बिहान सम्पन्न राउन्ड अफ ३२ अन्तर्गतको रोमाञ्चक भिडन्त निर्धारित ९० मिनेट र अतिरिक्त समयसम्म १–१ को बराबरीमा टुंगिएको थियो। त्यसपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएकोमा पाराग्वे ४–३ ले विजयी बन्यो।
विश्वकप इतिहासमा जर्मनी पेनाल्टी सुटआउटमा पराजित भएको यो पहिलो घटना हो। साथै, सन् २०१० मा विश्वकप उपाधि जितेपछि जर्मनी लगातार चौथो पटक अन्तिम १६ मा पुग्न असफल भएको छ।
खेलको ४२औँ मिनेटमा जुलियो एन्सिसोले आकर्षक हेडमार्फत गोल गर्दै पाराग्वेलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको जर्मनीले दोस्रो हाफको सुरुवातमै खेलमा पुनरागमन गर्यो। ५३औँ मिनेटमा काइ हाभर्ट्जले गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्याए।
त्यसपछि जर्मनीले कर्नरमार्फत अर्को गोल गरे पनि भिडियो सहायक रेफ्री (VAR) ले पाराग्वेका गोलकिपरमाथि फेल भएको ठहर गर्दै उक्त गोललाई मान्यता दिएन।
पेनाल्टी सुटआउटमा भने जर्मनीको प्रदर्शन निराशाजनक रह्यो। यस सिजन आर्सनललाई २२ वर्षपछि प्रिमियर लिग उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका काइ हाभर्ट्जले पहिलो प्रहारमै गोल गर्न सकेनन्। जर्मनीका तीन खेलाडी पेनाल्टीमा असफल हुँदा पाराग्वेका दुई खेलाडीको प्रहार मात्र विफल भएको थियो।
यो जितसँगै पाराग्वेले विश्वकपको नकआउट चरणमा आफ्नो सबैभन्दा स्मरणीय सफलता हासिल गर्दै उपाधि यात्रालाई थप रोमाञ्चक बनाएको छ।

