काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलमाथि जारी अनुसन्धानका लागि विशेष अदालतले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ।
सोमबार विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले अनुसन्धान प्रक्रिया अझै बाँकी रहेको निष्कर्ष निकाल्दै थप तीन दिन म्याद थप गर्ने आदेश दिएको हो।
पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। यसअघि अदालतले उनलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।
अनुसन्धान जारी रहेकाले आवश्यक प्रमाण सङ्कलन तथा बयान प्रक्रिया पूरा गर्न थप समय आवश्यक परेको भन्दै अदालतले म्याद थपको आदेश दिएको जनाइएको छ।

