नेपालगञ्ज – बाँकेको कोहलपुरमा आफ्नै सहोदर दाजुको हत्या गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोहलपुर नगरपालिका–४ गोहुवाका २० वर्षीय विनोद चौधरीलाई आफ्नै २६ वर्षीय दाजु मनोज चौधरीको हत्या गरेको अभियोगमा नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार आइतबार बेलुका मनोजको हत्या गरी शव नहरमा फालेर फरार भएका विनोदलाई कोहलपुर नगरपालिका–१५ स्थित चन्हवाबाट पक्राउ गरिएको हो।
प्रारम्भिक अनुसन्धानबाट कुटपिटका क्रममा मनोजको मृत्यु भएको देखिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।
मृतक मनोजको शव पोष्टमार्टमका लागि भेरी अञ्चल अस्पतालमा ल्याइएको छ।
पक्राउ परेका विनोदलाई म्याद थपका लागि जिल्ला अदालत बाँकेमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।

