काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको तयारी तीव्र पारिएको छ। आगामी असार ७ देखि ९ गतेसम्म चितवनको रत्ननगरमा हुने तीनदिने महाधिवेशनलाई लक्षित गर्दै हजारौँ प्रतिनिधि तथा सहभागी अट्ने अस्थायी सभास्थल निर्माणको काम सुरु गरिएको छ।
महाधिवेशनका लागि रत्ननगरस्थित टाँडीमा रहेको होटल स्टारको सभाकक्षसँग जोडिएको खाली क्षेत्रमा बाँसको संरचनामा आधारित विशाल ‘डोम’ निर्माण भइरहेको छ। होटल परिसरको टिने संरचनासमेत उपयोग गरी करिब ३२ हजार ४८० वर्गफिट क्षेत्रफलमा महाधिवेशनस्थल तयार पारिने जनाइएको छ।
रास्वपाका केन्द्रीय सदस्य राजन गौतमका अनुसार सातदेखि आठ हजारसम्म सहभागी बस्न सक्ने क्षमताको सभाहल निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। निर्माणाधीन डोमको मध्यभाग २९ फिट र किनारतर्फ १६ फिट अग्लो हुनेछ। पानी नचुहिने उच्च गुणस्तरको टेन्ट तथा त्रिपाल प्रयोग गरी संरचनालाई सुरक्षित र व्यवस्थित बनाइने तयारी गरिएको छ।
गौतमका अनुसार डोमभित्र पर्याप्त हावापानीको व्यवस्थाका लागि ७० वटा ठूला पङ्खा र २० वटा कुलर जडान गरिनेछ। बाहिरी क्षेत्रमा समेत टेन्टमार्फत अतिरिक्त बस्ने स्थान तयार गरिनेछ भने आवश्यकताअनुसार होटल स्टारको ठूलो सभाहल पनि उपयोग गरिने योजना छ।
महाधिवेशनमा सहभागी हुने प्रतिनिधि तथा अतिथिका लागि सौराहा, रत्ननगर र भरतपुर क्षेत्रका होटलहरूमा आवासको व्यवस्था मिलाइँदै छ। सहुलियत दरमा कोठा उपलब्ध गराउन होटल व्यवसायीसँग समन्वय भइरहेको र आवास खर्च भने सहभागी स्वयंले व्यहोर्ने व्यवस्था गरिएको जनाइएको छ।
उद्घाटन समारोहका दिन टिकौलीचौरलाई सवारी पार्किङस्थलका रूपमा प्रयोग गरिनेछ। त्यहाँबाट कार्यक्रमस्थलसम्म पुग्न र फर्किन छुट्टै सवारी व्यवस्थापन गरिने तयारी छ। साथै उद्घाटन सत्रपछि दिनभर सहभागीका लागि भोजनको व्यवस्था महाधिवेशनस्थलमै गरिने बताइएको छ।
रास्वपाले महाधिवेशन सफल बनाउन स्थानीय जिल्ला तथा नगर समितिसहित केन्द्रीय सदस्य र प्रतिनिधिसभा सदस्यहरूको समन्वयमा काम गरिरहेको जनाएको छ। महाधिवेशन व्यवस्थापनका लागि गठन गरिएका १८ वटा उपसमितिहरू आ–आफ्नो जिम्मेवारीमा सक्रिय छन्।
पार्टीका प्रवक्ता मनीष झाले असार २ गतेदेखि महाधिवेशन सचिवालय सञ्चालनमा आउने र असार ४ गतेदेखि पार्टीका शीर्ष नेताहरू कार्यक्रमस्थलमै खटिने जानकारी दिए। उनका अनुसार उद्घाटन समारोहमा राष्ट्रिय राजनीतिक दलका शीर्ष नेतासहित छिमेकी मुलुकका प्रतिनिधिहरूलाई पनि निमन्त्रणा गरिएको छ।
करिब तीन हजार प्रतिनिधिको सहभागिता रहने अपेक्षा गरिएको महाधिवेशनमा उद्घाटन सत्रपछि विधानमाथि व्यापक छलफल हुनेछ। त्यसपछि नयाँ नेतृत्व चयन गर्दै तीनदिने महाधिवेशन सम्पन्न गरिने कार्यक्रम रहेको रास्वपाले जनाएको छ।

