काठमाण्डौ । इरानका राष्ट्रपति मसद पेजेशकियन्ले अमेरिका–इरानबीच भएको समझदारीलाई खाडी क्षेत्र र प्रतिरोधी शक्तिहरूका लागि सम्मानको दस्तावेज भएको बताएका छन्। उनले उक्त समझदारीमार्फत इरानले महत्वपूर्ण कूटनीतिक सफलता हासिल गरेको दाबी गरेका हुन्।
राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पेजेशकियनले सम्झौताका अधिकांश विषयमा सहमति भइसकेको जानकारी दिए। उनका अनुसार केही सीमित विषयमा मात्र मतभेद बाँकी रहेका छन्। यद्यपि ती विषयबारे उनले थप विवरण खुलाएका छैनन्।
उनले सम्झौताप्रति इजरायलले व्यक्त गरेको असन्तुष्टिलाई इरानको सफलताको संकेतका रूपमा व्याख्या गरे। इजरायलको प्रतिक्रिया नै सम्झौताले इरानका हितलाई सम्बोधन गरेको प्रमाण भएको उनको भनाइ थियो।
यसैबीच, इरानका विदेश मन्त्रालयका प्रवक्ता एस्मेल बघाइले उक्त समझदारीले इरानका मुख्य मागहरूलाई समेटेको दाबी गरेका छन्। विशेषगरी लेबनानमा युद्धविराम कायम राख्ने विषयलाई सम्झौतामा समावेश गरिएको उनले बताए।
हालै इजरायल र लेबनानबीच बढेको सैन्य तनावका कारण यो विषय क्षेत्रीय स्थायित्वसँग प्रत्यक्ष रूपमा जोडिएको मानिएको छ।
प्रवक्ता बघाईले इरानका रोक्का गरिएका सम्पत्ति फुकुवा गर्ने विषय तथा अघिल्ला युद्धका कारण भएको क्षतिको क्षतिपूर्ति सुनिश्चित गर्नुपर्ने आवश्यकता पनि उठाएका छन्। उनका अनुसार यी विषयहरू इरानका लागि महत्वपूर्ण प्राथमिकतामा रहेका छन्।

