काठमाण्डौ । फिफा विश्वकप–२०२६ अन्तर्गत सम्पन्न खेलमा इजिप्टले न्युजिल्यान्डविरुद्ध उत्कृष्ट पुनरागमन गर्दै सानदार जित हात पारेको छ।
क्यानडाको भ्यान्कुभरस्थित बीसी प्यालेसमा भएको खेलमा सुरुवाती अग्रता गुमाए पनि इजिप्टले खेललाई पूर्ण रूपमा आफ्नो पक्षमा पार्दै ३–१ को जित निकाल्यो।
खेलको १५औँ मिनेटमा फिन सुरम्यानले हेडरमार्फत गोल गर्दै न्युजिल्यान्डलाई १–० को अग्रता दिलाएका थिए। तर दोस्रो हाफदेखि इजिप्टले लगातार आक्रामक खेल प्रदर्शन गर्दै खेलको नतिजा उल्ट्याएको हो।
५८औँ मिनेटमा मुस्ताफा जिकोले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए। त्यसपछि ६७औँ मिनेटमा कप्तान मोहम्मद सलाहले उत्कृष्ट गोल गर्दै इजिप्टलाई २–१ को अग्रता दिलाए। खेलको ८२औँ मिनेटमा मैदान प्रवेश गरेका वैकल्पिक खेलाडी ट्रेजेगुएले निर्णायक गोल गर्दै इजिप्टको ३–१ को जित सुनिश्चित गरे।
यो जितसँगै इजिप्टले विश्वकप इतिहासमा पहिलो जित दर्ता गरेको छ। साथै, एकै खेलमा तीन गोल गर्ने उपलब्धि पनि पहिलो पटक हासिल गरेको छ ।
समूह ‘जी’को अंकतालिकामा इजिप्ट ४ अंकसहित शीर्ष स्थानमा पुगेको छ। न्युजिल्यान्ड १ अंकसहित चौथो स्थानमा झरेको छ भने इरान र बेल्जियम २–२ अंकसहित क्रमशः दोस्रो र तेस्रो स्थानमा रहेका छन्।

