काठमाडौँ । दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा बुधबार साँझ आएका दुई शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको संख्या २३५ पुगेको छ।
भेनेजुएलाका स्वास्थ्यमन्त्री कार्लोस अल्भाराडोका अनुसार बिहीबार साँझसम्म भूकम्पबाट २३५ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ४ हजार ३ सयभन्दा बढी व्यक्ति घाइते भएका छन्।
स्थानीय समयअनुसार बुधबार साँझ सुरुमा ७.२ म्याग्निच्युडको भूकम्प गएको थियो। त्यसको केही सेकेन्डमै ७.५ म्याग्निच्युडको अर्को, अझ शक्तिशाली भूकम्पले देशलाई पुनः हल्लाएको थियो।
भूकम्प लगत्तै अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले १० हजारभन्दा बढी मानिसको मृत्यु हुन सक्ने सम्भावना ४४ प्रतिशत रहेको प्रारम्भिक जोखिम मूल्याङ्कन सार्वजनिक गरेको थियो।
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार ध्वस्त भएका भवनका भग्नावशेषभित्र अझै मानिसहरू फसेको आशंका गरिएको छ। उद्धार टोलीले भग्नावशेषबाट आवाजसमेत सुनिएको जनाएको छ, जसका कारण मृतकको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ। उद्धार तथा राहत कार्यलाई तीव्र बनाईएको छ।

