जुम्ला । जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाले चालु आर्थिक वर्षको पहिलो ११ महिनामा सवारी नियम उल्लङ्घन गर्ने चालकमाथि गरिएको कारबाहीबाट आठ लाख १२ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
सवारी नियम उल्लङ्घन, मादक पदार्थ सेवन गरी सवारी चलाउनेलगायतका कसुरमा कारबाही गरिएका चालकबाट उक्त राजस्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक निरीक्षक जगतबहादुर कठायतले जानकारी दिए।
यसै अवधिमा जिल्लाभर ६८ वटा सवारी दुर्घटना भएको तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको छ। ती दुर्घटनामा भने कुनै पनि मानवीय क्षति नभएको जनाइएको छ।
ट्राफिक कार्यालयका अनुसार पछिल्ला वर्षहरूमा जुम्लामा सहरीकरण तीव्र बन्दै जाँदा सवारी साधनको सङ्ख्या र चाप दुवै बढिरहेका छन्। यससँगै ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन र चालकको सचेतनामा थप जोड दिइएको कार्यालयले जनाएको छ।

