काठमाडौँ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उपसभापतिमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।
चितवनमा जारी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत खुला पुरुषतर्फको उपसभापति पदमा वाग्लेविरुद्ध अन्य कुनै उम्मेदवारी नपरेपछि निर्वाचन आयोगले शुक्रबार बिहान उनलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो।
उपसभापती पदका अर्का आकांक्षी विराजभक्त श्रेष्ठले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि वाग्ले सर्वसम्मत रूपमा निर्वाचित भएका हुन्। उम्मेदवारी फिर्ता लिएका श्रेष्ठ नै वाग्लेका प्रस्तावकसमेत बनेका थिए।
रास्वपाको विधानअनुसार तीन जना उपसभापति रहने व्यवस्था छ। तीमध्ये दुई जना निर्वाचनबाट निर्वाचित हुने, जसमा कम्तीमा एक जना महिला अनिवार्य रहने व्यवस्था छ भने थप एक जना उपसभापति पार्टी सभापतिले मनोनयन गर्ने प्रावधान छ। पुरुषतर्फको निर्वाचित उपसभापति भने वाग्ले बनेका हुन्।
यसअघि सम्पन्न केन्द्रीय सदस्य निर्वाचनमा वाग्ले खुलातर्फ सबैभन्दा बढी २ हजार ६ सय ७ मत प्राप्त गर्दै विजयी भएका थिए। रास्वपाको विधानअनुसार सभापति र वरिष्ठ नेता बाहेक अन्य पदाधिकारी बन्नुअघि केन्द्रीय सदस्यमा निर्वाचित हुनुपर्ने व्यवस्था छ।
यसअघि नै पार्टी सभापति पदमा रवि लामिछाने पनि निर्विरोध निर्वाचित भइसकेका छन्।

