काठमाडौँ । शुक्रबार काठमाडौँ उपत्यकासहित देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। बिहानदेखि नै मधेस प्रदेशका धेरै स्थान तथा कोसी र बागमती प्रदेशका केही क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
यस्तै, कोसी र मधेसका तराई क्षेत्र तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली–पहाडी भूभागका थोरै स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ। बागमती, गण्डकी र लुम्बिनीका तराईका एक–दुई स्थानमा समेत वर्षा हुन सक्नेछ। यता लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा भने तातो हावाको लहर (लू) कायमै रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।
रातिको समयमा कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिमका हिमाली–पहाडी क्षेत्रका थोरै स्थान र तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
काठमाडौँमा अपराह्नपछि वर्षाको सम्भावना
मौसमविद् सञ्जीव अधिकारीका अनुसार शुक्रबार बिहान काठमाडौँ उपत्यकाको आकाश बादलले ढाकिएको छ। तत्काल वर्षाको सम्भावना कम रहे पनि केही समयपछि बादल पातलिँदै घाम लाग्न सक्ने र अपराह्नतिर पुनः बादल विकसित भई हल्कादेखि मध्यम वर्षा हुन सक्ने उनले बताएका छन्।
कसरी गरिन्छ वर्षाको मापन ?
मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम वर्षा भए हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म भए मध्यम वर्षा, ५० देखि १०० मिलिमिटरसम्म भए भारी वर्षा मानिन्छ।
त्यसैगरी, १०० देखि २०० मिलिमिटरसम्म वर्षा भए धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा बढी वर्षा भए अति भारी वर्षा भएको मानिन्छ।
‘एक–दुई’, ‘थोरै’, ‘केही’, ‘धेरै’ र ‘अधिकांश’ स्थानको अर्थ
मौसम पूर्वानुमानमा प्रयोग हुने यी शब्दले वर्षा हुने क्षेत्रफलको प्रतिशत जनाउँछन्।
एक–दुई स्थान : १० प्रतिशतभन्दा कम भूभाग
थोरै स्थान : १०–३० प्रतिशत भूभाग
केही स्थान : ३०–५० प्रतिशत भूभाग
धेरै स्थान : ५०–८० प्रतिशत भूभाग
अधिकांश स्थान : ८० प्रतिशतभन्दा बढी भूभाग
यसरी मौसम पूर्वानुमानमा प्रयोग हुने शब्दावलीले वर्षा कति व्यापक क्षेत्रमा फैलिन सक्छ भन्ने संकेत गर्छ।

