काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज सुरु भएको छ। बैठकमा बजेटसँग सम्बन्धित दुई महत्त्वपूर्ण विधेयक पारित गर्ने कार्यसूची तय गरिएको छ।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘आर्थिक विधेयक, २०८३’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। त्यसअघि आर्थिक विधेयक, २०८३ माथि दर्ता भएका संशोधन प्रस्तावमाथि छलफल हुनेछ।
सङ्घीय संसद् सचिवालयका अनुसार सभामुख डोलप्रसाद अर्यालले आर्थिक विधेयकमाथि परेका संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ।
त्यसैगरी, प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन, २०८३ तथा सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक २०८३ सभामा प्रस्तुत गर्नुहुनेछ।
बैठकमा अर्थमन्त्री डा. वाग्लेले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक २०८३, भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ तथा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८३ पनि प्रस्तुत गर्ने कार्यसूचीमा छ।
यस्तै, सभामुख अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा पनि सदनलाई जानकारी गराउनुहुनेछ।

