काठमाडौँ । चीनका विभिन्न क्षेत्रमा आएको भीषण वर्षा, बाढी, आँधीबेहरी र पहिरोका कारण कम्तीमा ३८ जनाको मृत्यु भएको छ भने प्रभावित क्षेत्रमा बेपत्ता भएका व्यक्तिको खोजी तथा उद्धार कार्य जारी रहेको छ। चिनियाँ अधिकारीहरूले आगामी दिनमा पनि वर्षा जारी रहने चेतावनी दिँदै जलाशय, नदी र तटबन्ध उच्च जोखिममा रहेको बताएका छन्।
टाइफुन मेसाकका कारण परेको अविरल वर्षापछि दक्षिणी गुआङ्सी क्षेत्रमा कम्तीमा छ जनाको मृत्यु भएको छ भने एक लाख ३० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। क्षेत्रीय अधिकारीहरूले गुआङ्सी र छिमेकी गुआङ्डोङ प्रान्तमा थप वर्षा हुने पूर्वानुमान सार्वजनिक गरेका छन्।
राज्य सञ्चारमाध्यमका अनुसार तीव्र बाढीले गुआङ्सीका ४० वटा नदी तथा जलमार्गका किनार भत्काएको छ भने करिब १३ हजार एकड कृषि भूमि डुबान तथा कटानबाट प्रभावित भएको छ। गुआङ्सीस्थित एक जलाशयको बाँध फुटेपछि उद्धार टोलीहरूले डुङ्गामार्फत उद्धार अभियान सञ्चालन गरिरहेका छन्। प्रभावित क्षेत्रमा खाद्यान्न, रेनकोट, रबर डुङ्गालगायत राहत सामग्री पठाइएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।
राज्य बाढी नियन्त्रण तथा खडेरी राहत मुख्यालयले गुआङ्सीमा बाढी नियन्त्रणको दोस्रो उच्च तहको आपतकालीन सतर्कता कायम राखेको छ। जलस्रोत मन्त्री ली गुओइङका अनुसार वुझोउ जलमापन केन्द्रमा नदीको सतह चेतावनी तहभन्दा छ मिटरभन्दा बढी पुग्ने अनुमान गरिएको छ। लगातारको वर्षा र लामो समयसम्म उच्च बहाव कायम रहँदा जलाशय तथा तटबन्धको सुरक्षाले गम्भीर चुनौती सामना गरिरहेको उनले बताए।
यसैबीच, मध्य चीनको हुबेई प्रान्तमा आएको आँधीबेहरीका कारण थप ११ जनाको मृत्यु भएको छ भने ३३१ जना घाइते भएका छन्। एक जना अझै बेपत्ता छन्। आँधीले करिब चार हजार ८०० घरमा क्षति पुर्याएको छ भने २२ वटा घर पूर्ण रूपमा ध्वस्त भएका छन्।
चिनियाँ राष्ट्रपति सि जिनपिङङले उद्धार तथा राहत कार्यमा पूर्ण शक्ति परिचालन गर्न निर्देशन दिएको राज्य प्रसारक सिसिटिभीले जनाएको छ।
अर्कोतर्फ उत्तरपश्चिमी गान्सु प्रान्तमा मङ्गलबार बिहान आएको पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या २१ पुगेको छ । डाङचाङ काउन्टीको रेन्काङ गाउँमा गएको पहिरोले ३३ जनालाई पुरेको थियो । स्थानीय अधिकारीहरूका अनुसार खोज तथा उद्धार अभियान सम्पन्न भइसकेको छ भने पहिरोको कारणबारे अनुसन्धान जारी छ ।
पहिरो प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि तीन करोड युआन (करिब ४४ लाख अमेरिकी डलर) बराबरको कोष छुट्याइएको चिनियाँ अधिकारीहरूले जनाएका छन् ।

