काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज देशका केही जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिम रहने सम्भावना रहेको भन्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
विभागका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागका साथै मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको विभागले जनाएको छ। विभागका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भू–भागतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी भू–भागतर्फ भने सरदर स्थानकै आसपास अवस्थित छ।
विभागका बाढीविद् विनोद पराजुलीका अनुसार इलाम, झापा, तेह्रथुम, पाँचथर, धनकुटा, सप्तरी, सुनसरी, मोरङ, डोटी, डडेल्धुरा तथा आसपासका जिल्लाबाट बग्ने स–साना नदी तथा खोलामा बहाव उल्लेख्य रूपमा बढ्न सक्ने भएकाले आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।
यस्तै, विभागका अनुसार पछिल्लो २४ घण्टामा देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ। सबैभन्दा बढी वर्षा कास्कीको याङ्जाकोटमा मापन गरिएको छ, जहाँ ९८.६ मिलिमिटर वर्षा रेकर्ड भएको विभागले जनाएको छ।

