काठमाडौं, ३० असार।
नेपाल बुद्धिजीवी संगठनद्वारा आयोजित ‘नेपालको भूराजनीतिमा छिमेक सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत तथा परराष्ट्रविद्हरूले नेपालको वर्तमान परराष्ट्र नीतिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। वक्ताहरूले असन्तुलित कूटनीतिक अभ्यासले नेपालको राष्ट्रिय हितमा दीर्घकालीन असर पर्न सक्ने भन्दै असंलग्नता, सन्तुलित कूटनीति र राष्ट्रिय स्वार्थमा आधारित परराष्ट्र नीति अवलम्बन गर्न सरकारलाई आग्रह गरेका हुन्।
कार्यक्रमका प्रमुख वक्ता पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले वर्तमान अन्तर्राष्ट्रिय परिवेशमा नेपाललाई अब ‘तीन ढुंगाबीचको तरुल’ को अवस्थामा पुगेको टिप्पणी गरे। उनले अमेरिकी प्रभाव, एमसीसी र एसपीपीजस्ता विषयले नेपालको भूराजनीतिक चुनौती थप जटिल बनेको दाबी गर्दै राष्ट्रिय हितलाई केन्द्रमा राखेर कूटनीतिक निर्णय गर्नुपर्ने आवश्यकता औंल्याए।
श्रेष्ठले दलाई लामाको जन्मदिन मनाउने नाममा सरकारले अनुमति दिएको विषयप्रति पनि आपत्ति जनाउँदै यसले नेपालको संविधान, परराष्ट्र नीति र ‘एक चीन नीति’सँग सम्बन्धित संवेदनशील प्रश्न उठाएको बताए। उनले चीनका विदेशमन्त्रीले हालै नेपाली समकक्षीलाई दिएको “टाढाको नातेदारभन्दा नजिकको छिमेकी बढी काम लाग्छ” भन्ने सन्देशको अर्थ गम्भीरतापूर्वक बुझ्नुपर्ने धारणा व्यक्त गरे।
उनले सात जना पूर्वराजदूतहरूले संयुक्त वक्तव्यमार्फत सरकारलाई परराष्ट्र नीतिमा देखिएका कमजोरी सच्याउन आग्रह गरेको उल्लेख गर्दै राष्ट्रिय हित, सुरक्षा, आत्मनिर्भरता र सन्तुलित कूटनीतिमार्फत मात्र समृद्धिको मार्ग सुनिश्चित गर्न सकिने बताए।
कार्यक्रमका विशिष्ट अतिथि तथा नेपाली कम्युनिष्ट पार्टीका नेता एवं बुद्धिजीवी मोर्चा समन्वय फाँटका प्रमुख जगन्नाथ खतिवडाले नेपालको परराष्ट्र नीतिमा देखापर्न थालेका विचलन, अराजकता र सम्भावित परिणामबारे गम्भीर बहस आवश्यक रहेको बताए। यस्ता विषयमा बौद्धिक समुदायलाई एकै स्थानमा ल्याएर छलफल आयोजना गरेकोमा उनले नेपाल बुद्धिजीवी संगठनको प्रशंसा गरे।
कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा बुद्धिजीवी मोर्चा समन्वय फाँटका उपप्रमुख निलकण्ठ तिवारीको आतिथ्यता, नेपाल बुद्धिजीवी संगठनका संयोजक कृष्ण केसीको अध्यक्षता, सहसंयोजक सिताराम घले परियारको सञ्चालन तथा सहसंयोजक भगिरथ न्यौपानेको स्वागत मन्तव्य रहेको थियो।
कार्यक्रममा बुद्धिजीवी भरत शर्मा, डा. आइत विश्वकर्मा, जगदीश शाही, डा. भवेश झालगायतले नेपालको भूराजनीति, छिमेकी सम्बन्ध र परराष्ट्र नीतिसम्बन्धी विभिन्न जिज्ञासा तथा धारणा प्रस्तुत गरेका थिए।

