काठमाडौँ । निरन्तरको वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ। कतिपय सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही सडकमा रातिको समयमा सवारी सञ्चालनमा अस्थायी प्रतिबन्ध लगाइएको छ।
नेपाल प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा अर्को सूचना जारी नभएसम्म दैनिक बेलुका ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालन रोकिएको छ। बिहान ४ बजेदेखि बेलुका ६ बजेसम्म भने सवारी सञ्चालन गर्न दिइने व्यवस्था गरिएको छ।
यस्तै, कान्ति लोकपथमा पनि अपराह्न ५ बजेदेखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा अस्थायी रोक लगाइएको छ।
इलाम नगरपालिका–९ राजदुवालीस्थित मेची राजमार्गमा सडक हिलाम्मे बनेपछि सवारी आवागमन ठप्प भएको छ। अर्घाखाँचीको पाणिनि गाउँपालिका–२ ढुङ्गेखोलामा माथिबाट ढुङ्गा खसेपछि सालझण्डी–ढोरपाटन सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ जिरोकिलो र वडा नं. २ कोदारी क्षेत्रमा पहिरोसँगै लेदो, ढुङ्गा र माटो खसेपछि अरनिको राजमार्ग पूर्ण रूपमा बन्द भएको छ।
यता, बागलुङको जैमिनी नगरपालिका–८ बेलबगरमा पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ घुमाउने, वडा नं. ८ गिम्दी तथा वडा नं. ९ बिरुवाडाँडा र पिन्थली क्षेत्रमा पहिरो खसेपछि बिपी राजमार्गका ती खण्डमा पनि सवारी आवागमन पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।

