काठमाडौँ — देशभर मनसुनको प्रभाव थप सक्रिय बन्दै गएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।
महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा केही माथि तराई भू–भाग आसपास र पूर्वी क्षेत्रमा सरदर स्थानकै आसपास रहेको जनाएको छ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो पनि देशभर अधिकांश स्थानमा बदली कायम रहने र हिमाल, पहाड तथा तराईका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। उच्च हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको सम्भावना पनि रहेको छ।

