काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी राष्ट्रिय भेला आयोजक समितिले मुगुका २५ वर्षीय युवा गणेश नेपालीको आत्मदाह घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कडा कानुनी कारबाही तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ।
समितिका संयोजक क. उमा भुजेल ‘शीलु’ द्वारा जारी प्रेस विज्ञप्तिमा गणेश नेपालीको आत्मदाह व्यक्तिगत घटना नभई राज्यको कुशासन र जनताप्रतिको गैरजिम्मेवारीको परिणाम भएको उल्लेख गरिएको छ। विज्ञप्तिमा आत्मदाह गर्न बाध्य पार्ने परिस्थितिको सत्यतथ्य छानबिन गरी जिम्मेवार पक्षलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरिएको छ।
साथै, मृतकका आमाबुवासहित परिवारको जीविकोपार्जनका लागि तत्काल राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न सरकारलाई आग्रह गरिएको छ। विज्ञप्तिमा गणेश नेपालीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।

