काठमाडौँ । थाइल्यान्डमा आयोजना हुने १२औँ एसियाली उमेरसमूह स्विमिङ च्याम्पियनसिपमा नेपालका १६ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन्।
भोलि (जुलाई १७) देखि २७ सम्म थाइल्यान्डको बैंककमा सञ्चालन हुने प्रतियोगितामा नेपालबाट ६ महिला र १० पुरुष गरी १६ खेलाडी सहभागी हुनेछन्। खेलाडीसहित कुल १९ सदस्यीय नेपाली टोली बुधबार त्यसतर्फ प्रस्थान गरेका छन् ।
प्रतियोगितामा सहभागी टोलीलाई सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा आयोजित कार्यक्रममा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रामचरित्र मेहेता तथा नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठलगायतले सफलताको शुभकामना दिँदै बिदाइ गरेका थिए।
नेपालले यस प्रतियोगितामार्फत अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रदर्शन सुधार गर्दै पदकका लागि चुनौती प्रस्तुत गर्ने लक्ष्य राखेको छ।

