काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जमा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि उत्पन्न तनाव सोमबार थप चर्किएको छ। कर्फ्यु जारी रहेकै अवस्थामा प्रदर्शनकारी सडकमा उत्रिएपछि स्थिति नियन्त्रणमा लिन नेपाली सेना परिचालन गरिएको छ।
स्थानीय प्रशासनले सोमबार बिहानदेखि देवानगञ्जसहित पाँच क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गरे पनि प्रदर्शनकारीले त्यसको उल्लंघन गर्दै देवानगञ्ज र पूर्व–पश्चिम राजमार्गअन्तर्गत लौकही क्षेत्रमा प्रदर्शन गरेका छन्।
प्रदर्शनका क्रममा केही समूहले स्थानीय पसलमा तोडफोड तथा आगजनी गरेको जनाइएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो टोली परिचालन गरिए पनि अवस्था पूर्ण रूपमा नियन्त्रणमा आउन नसकेपछि नेपाली सेना परिचालन गरिएको हो।
आइतबार राति देवानगञ्ज–३ कप्तानगन्जमा बोलबम यात्राका क्रममा दुई समुदायबीच भएको झडप नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा स्थानीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो। घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगञ्ज, हरिनगर, भुटाहा, कप्तानगञ्ज र घुस्की क्षेत्रमा सोमबार बिहानदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश लागू गरेको छ।

