काठमाडौँ । जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसले बुधबार ललितपुरमा ग्रीन रनको आयोजना गर्दै जलवायु परिवर्तनबारे जनचेतना फैलाउने अभियान सुरु गरेको छ।
यूएन पार्कबाट सुरु भएको पाँच किलोमिटर लामो दौडमा कांग्रेसका सभापति गगनकुमार थापासहित नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रम कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको हो।
दौड सम्पन्न भएपछि जावलाखेल चोकस्थित फल्चामा ‘जलवायु परिवर्तनको चुनौती : निराकरण कसरी ?’ विषयमा विज्ञहरूको सहभागितामा समूहगत छलफल आयोजना गरिएको थियो । कार्यक्रममा जलवायु परिवर्तनका चुनौती, असर र समाधानका सम्भावनालाई चित्रण गर्ने चित्रकला प्रदर्शनीसमेत राखिएको छ, जहाँ चर्चित चित्रकारहरूले प्रत्यक्ष चित्र सिर्जना गरेका छन्।
कांग्रेसले ‘ग्रीन रन’लाई सामाजिक उत्तरदायित्वसँग पनि जोडेको छ। दौडमा सहभागीको सङ्ख्याका आधारमा प्रतिव्यक्ति निश्चित रकम पार्टीको तर्फबाट ‘मानवीय सहयोग कोष’मा जम्मा गरिने जनाइएको छ। उक्त कोषबाट पछिल्लो समय विस्थापित भएका सुकुम्बासी परिवारका ज्येष्ठ नागरिक र बालबालिकाको हितमा सहयोग गरिने कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिए।
बीपी स्मृति दिवसको अवसरमा कांग्रेसले आज र भोलि देशभर विविध कार्यक्रम आयोजना गर्ने कार्यक्रम रहेको छ।

